आचल तिमल्सिना
"अब लड्न सक्दिन मम्मी… माफ गर्नुहोस् ।" शब्दहरू छोटा थिए, तर बोझ यति गह्रौं कि पूरा मुलुकको आत्मालाई झस्काइदियो । यी वाक्यहरू थिए — नेपालका एक कर्तव्यनिष्ठ डाक्टर, डा. केशव श्रेष्ठको ।
फेसबुकमा यति लेखेपछि डा. केशव श्रेष्ठ सम्पर्कविहीन भएका छन । बागमतीको दुर्गम अस्पतालमा आशाको उज्यालो बनेका डा. श्रेष्ठले स्वास्थ्य सेवामा २५ महिना बिताए । जसमा १८ महिना रामेछाप अस्पतालका निमित्त प्रमुखको रूपमा जिम्मेवारी बहन गरे । रामेछाप अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. श्रेष्ठ जुन अस्पतालको सुधारका लागि दिन–रात खटिएका थिए, उनी आज बिहानदेखि बेपत्ता छन् ।
सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले परिवार, आफन्त र देशप्रति गहिरो पीडा पोखेका छन् । डा. श्रेष्ठको फेसबुक स्टाटस भावुक मात्र छैन, यो एक इमानदार चिकित्सकको अन्तिम चित्कार जस्तो सुनिन्छ । उनले लेखेका छन —“रामेछाप आएपछि मैले अस्पताल सुधार्ने सपना देखेँ, निस्वार्थ खटिए, तर मलाई नै हटाउने खेल सुरु भयो ।” उनले गुनासो गरे, अस्पतालमा सिष्टम तोड्नेहरू, काम चोर्नेहरू, नीतिभन्दा नाता हेर्नेहरूको वर्चस्व रहेकोमा र ती तत्वहरूसँग टक्कर खानैपर्ने आफ्नो नियति बनेकोमा उनले गुनासो मात्र गरेनन्, सरुवा र मानसिक दबाबको नाममा आफूलाई कमजोर बनाइएको आरोप पनि लगाएका छन ।
डा. श्रेष्ठले रामेछाप–८ का केदार कार्की र पूर्व मेडिकल सुपरिटेन्डेन्ट डा. गगन अधिकारीले मिलेर आफूविरुद्ध अभियान चलाएको उल्लेख गरेका छन् । उनले लेखेका छन् — “काम नगर्ने कर्मचारीलाई कारबाही गर्दा झुटा आरोप लगाए, राजनैतिक हस्तक्षेप सुरु गरे । ” केदार कार्कीले अस्पताललाई आफ्नै स्वार्थ अनुसार चलाउन खोजेको आरोप उनले लगाएका छन् । जागिरमा आफ्ना मान्छे राख्न दबाब दिने, होटल बिल राज्यबाट तिर्न दबाब दिने , आफूले मन नपरेका इमानदार डाक्टर हटाउन धम्की दिने, यति मात्र नभई “तीन दिनभित्र तेरो सरुवा नभए मेरो नाम केदार होइन,” भनेर कार्यकक्षमै थरथराउने धम्की दिए , यसपछि विभिन्न झुटा आरोपहरू लगाइयो , मानसिक त्रास सिर्जना गरियो र ३ दिनभित्र सरुवा पनि गरियो । २४ घण्टामा मन्त्रालय हाजिर गर्न बाध्य पारियो ।
१६ टाका लागेको शरीर, दुई वर्षकी छोरी, पत्नीको साथ राति ९ बजे रामेछापबाट काठमाडौँ अनि बिहान ८ बजे हेटौंडा आयौं । श्रेष्ठले चलाइरहेको गाडी खोसियो, यस्तै हाजिर नगरेको भनी दुव्यर्वहार गरियो, सुरक्षा नदिइएको गुनासो कसैले सुनेनन । “मन्त्रालयले नयाँ मेसूको हाजिर गराउन CDO लाई फोन गर्यो, तर मेरो सुरक्षाका लागि कसैले फोन गरेनन । ” स्वास्थ्य मन्त्रालयका प्रमुख प्रशासकीय अधिकृत कुमार पोखरेलले झन अमानवीय व्यवहार गरे । न सरुवा अनुसार अस्पताल पठाइयो, न मानवता देखाइयो । “काम नगर्नेहरूलाई मलाई हटाएर फाइदा पुग्थ्यो,” उनले लेखेका छन् । एक सच्चा कर्मचारी, जसले सेवा भावनालाई प्रधान माने, जब सत्ताको खेलले थिच्छ, त्यसबेला ऊ भित्रको आवाज यस्तै चिच्याएर निस्कन्छ ।
रामेछाप अस्पतालमा नियुक्त भएदेखि डा. श्रेष्ठले अनेक सुधार ल्याएका थिए । त्यस अवधिमा उनले जुन लगन, निष्ठा र इमानदारी देखाए, त्यसको प्रमाण थियो — १५ बेडको अस्पताललाई ५० बेडमा स्तरोन्नति गर्नु, सेवा प्रवाह र संरचनामा आमूल सुधार ल्याउनु, अस्पताललाई बागमतीकै दोस्रो उत्कृष्ट बनाउनु । दुर्गम ठाउँमा संसाधन सीमितताबीच उनले अस्पताललाई जीवन्त बनाए ।
बिरामीको सेवा प्रणालीदेखि औषधि व्यवस्थासम्ममा उनले ल्याएको पारदर्शिता चर्चामा थियो । तर यही सुधारको प्रयासले उनलाई ‘खलनायक’ बनाइयो ।
उनले लेखेका छन — “मैले रात–दिन अस्पताल सुधारको सपना देखेँ, तर मलाई नै हटाउने खेल चल्यो । अब थकित छु ।” उनको अन्तिम स्ट्याटस भावनात्मक मात्र होइन, चिन्ताजनक पनि छ । डा. श्रेष्ठ सम्पर्कविहीन छन् । तर उनका शब्दहरू अझै फेसबुकमा छन् । उनको खोजी जारी छ ।