हेटौंडा – नेकपा एमालेको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको प्रमुख पदमा अनन्तप्रसाद पौडेल र उपप्रमुखमा सुमित्रा काफ्लेले उम्मेद्वारी दर्ता गराएका छन् । मनोनयनको दोस्रो दिन हेटौंडा–२ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।
बर्तमान मेयर हरिबहादुर महत प्रस्तावक र जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको समर्थनमा पौडेलले मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै एमाले नेतृ आरती पाठक प्रस्तावक र सिता विष्टको समर्थकमा काफ्लेले उपमेयर उम्मेदवारी दर्ता गरेकी हुन् ।
त्यसैगरस् एमालेले हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडाध्यक्ष र सदस्यहरुको उम्मेद्वारी दर्ता गरेको छ । एमाले जिल्ला पार्टी कार्यालयबाट र्याली सहित उम्मेद्वारी दर्ताको लागि उम्मेद्वार तथा कार्यकर्ता मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
२०७४ स्थानीय तहको निर्वाचनमा एमालेले माओवादी–कांग्रेसको गठवन्धनलाई पराजित गर्दै हेटौँडाको मेयर र उपमेयर दुवै जितेको थियो । हेटौंडाको १९ वडामध्ये एमालेले १२ वडाको वडाध्यक्ष जितेको थियो ।
हेटौंडाको प्रमुख पदमा एमालेबाट पौडेल सहित ९ जनाको उम्मेदवारी दर्ता भएको छ । यसअघि आइतबार मेयर पदका लागि नेपाल मजदुर किसान पार्टीबाट रमेशमान सिंह, उन्नत लोकतन्त्र पार्टीबाट अयोध्या कुमार भट्टराई, मौलिक जरोकिलो पार्टीबाट सृजना बतौला, नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) बाट रोमनाथ भुर्तेल र सचेत नेपाली पार्टीबाट रामप्रसाद गौतम, स्वतन्त्रबाट लिला कुमारी आचार्य र देव राज पौडेलले उम्मेद्वारी दर्ता गराएका थिए ।