हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडाको एक मात्र सरकारी हेटौंडा अस्पतालमा नै नवजात शिशुको उपचारको क्रममा मृत्यु भएको छ । हेटौंडा ८ कमानेका कृष्ण बहादुर अधिकारी र कमला अधिकारीको शिशुको मृत्यु भएको हो ।
पीडितका आफन्तहरुले चिकित्सकहरुको लापारवाहीका कारण शिशुको मृत्यु भएको आरोप लगाएका छन् । पीडितका अनुसार हेटौंडा अस्पतालमा असार १६ गते कमलाको नर्मल डेलिभरी भएको थियो । अस्पतालले असार १७ गते शुक्रबार डिस्चार्ज गरेको थियो । शनिबार एक्कासी शिशुको स्वास्थ्यमा समस्या देखिएपछि पुनः हेटौंडा अस्पताल ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
शिशु जन्मदा स्वस्थ रहेपनि लगतै शिशुको स्वास्थ्यमा समस्या आएपछि हेटौंडा अस्पतालबाट अन्यत्र रिफर गर्नुपर्ने शिशुलाई डिस्चार्ज गरेपछि शिशुको मृत्यु भएको पीडितले बताएका छन ।
हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. रामचन्द्र सापकोटले शिशु अस्पताल ल्याउँदा मृत्यु भई सकेको दाबी गरे । ‘डेलिभरीपछि आफन्तलाई शिशुको मुटुमा समस्या छ, थप उपचारको लागि भरतपुर या काठमाडौं लैजान सुझाब दिएका थियौँ,’ उनले भने, ‘उहाँहरुले घर लिएर जानु भएछ । त्यहाँ बच्चाको अवस्था कस्तो थियो ?, उहाँहरुले के–के गर्नु भयो । हामीले शिशुको थप उपचारको लागि चितवन या काठमाडौं लैजानुपर्छ भनेका थियौँ ।’
मुटुमा समस्या भएको शिशुलाई थप उपचारको लागि चितवन वा काठमाडौं लैजानुपर्छ भन्नु, तर रिफर गर्नुपर्ने शिशुलाई डिस्चार्ज किन गर्नु भयो ? भन्ने प्रश्नमा, अस्पतालका मे.सु. सापकोटाले आफु हाल चितवन आएको र घटनाको विषयमा पुर्ण जानकारी नभएको बताए । ‘अस्पतालले बिरामी अवस्थाबारे जानकारी गराउने हो, लाने–नलाने उहाँहरुको कुरा हो,’ उनले भने ।
हेटौंडा अस्पतालका डाक्टर हरि खड्काले उपचारमा संलग्न डाक्टर र नर्सबिचको समन्वय अभावको कारण घटना हुन पुगेको स्वीकार गरे । ‘विरामी चेकजाँचको क्रममा बच्चाको आमालाई भन्दा आफन्तलाई शिशुको अवस्था बारे जानकारी दिनु पथ्र्यो, उनले भने, ‘अनि अर्को डिस्चार्ज गर्दा बिरामीको अवस्थाबारे राम्रोसंग जानकारी दिएर मात्रै डिस्चार्ज गर्नुपथ्र्यो, त्यहाँ समन्वयको अभाव देख्यौँ।’
डा.खड्काले अस्पतालबाट भएको कमि कमजोरी सुधार गरेर गुणस्तरीय सेवा उपलब्ध गराउन तत्पर रहेको बताए । शनिबार ब्यवस्थापन पक्षका सबै उपस्थित नभएको कारण पीडित र हेटौंडा अस्पताल व्यवस्थापन समिति बिच भोलि थप छलफल हुने उनले जानकारी दिए ।
हेटौंडा अस्पतालमा डेलिभरीको केसमा आमा वा शिशुको मृत्यु भएको यो पहिलो घटना भने होइन् । यसअघि बैशाख महिनामा सुत्केरी महिला बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२२ स्थायी घर भइ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा डेरा गरी बस्ने ३१ बर्षीया सीतामायाँ मोक्तानको मृत्यु भएको थियो ।