प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

स्थानीय तह सहिद स्मृती गोल्डकपमा लाखौँ अदृश्य खर्च, हिसाब नमिले के–के गर्नुपर्छ ?

२०७९ पौष २२, शुक्रबार १३:५६ बजे

हेटौंडा – नेपाली हास्यकलाकार शंकर आचार्यको चर्चित डाइलग ‘पिसाब किलियर नभए स्वास्थ्य विग्रिन्छ, हिसाब किलियर नभए, गणित विग्रिन्छ ।’ त्यस्तै चौथो स्थानीय तह सहिद स्मृति गोल्डकपको हिसाब किलियर नभएर गणित बिग्रिएको आशंका गरिएको छ ।

आयोजक मकवानपुर जिल्ला फुटबल संघले सोमबार गोल्डकपको आयव्यय सार्वजनिक गरेको थियो । प्रतियोगिताको गत सोमबार सार्वजनिक विवरण अनुसार १ करोड ३१ लाख ५६ हजार ४५४ रुपैयाँ आम्दानी भएर १ करोड ९ लाख ६७ हजार ९५३ रुपैयाँ खर्च हुँदा २१ लाख ३६ हजार ४०१ बचत भएको उल्लेख छ ।

‘तलबभत्ता, सुरक्षा, गेट, ब्यानगर लगायत शीर्षकमा खर्च उल्लेख हुँदै गर्दा चौर ब्यवस्थापन, अन्य, अफिस र गोल्डकप तयारी जस्ता अदृश्य खर्चमा यति मोटो रकम किन जनाईयो ? भन्ने आशंका रहेको छ ।’

पिप्ले क्याम्पा रंगशालामा ११ दिन सञ्चालन भएको प्रतियोगितामा चिया, पानी, चिसो, नास्ता, अथिति सत्कार, आयोजक पोशाकमा मोटो रकम खर्चेको देखिन्छ । एउटै शीर्षकमा समावेश गर्न सकिने खर्चलाई दोहोरो शीर्षक बनाएर लाखौँ खर्च भएको उल्लेख गरिएको छ ।

तलबभत्ता, सुरक्षा, गेट, ब्यानगरलगायत शीर्षकमा खर्च उल्लेख हुँदै गर्दा चौर ब्यवस्थापन, अन्य, अफिस र गोल्डकप तयारी जस्ता अदृश्य खर्चमा यति मोटो रकम किन जनाईयो ? भन्ने आशंका रहेको छ । विवरणलाई सार्वजनिक गर्दा गोल्डकप तयारी, चौर व्यवस्थापन, अन्य र अफिस शीर्षकमा करिब १२ लाख रुपैयाँ भन्दाबढी खर्च संकास्पद रहेको हो ।

त्यस्तै व्ययतर्फ प्रत्येक शीर्षकको रकम विश्लेषण गर्दा आवश्यकता भन्दाबढी खर्च देखिएको जानकारहरु बताउँछन् । सार्वजनिक आयव्यय विवरणमा प्रचारप्रसारमा ५ लाख ४ हजार, व्यानर र गेटमा ३ लाख ९२ हजार ५००, खेलकुद सामग्रीमा ५० हजार, चौर व्यवस्थापन ५ लाख ९४ हजार २७५ रुपैयाँ खर्चेर गोल्डकप तयारी शीर्षक खडा गरेर ३ लाख २५ हजार खर्च भएको उल्लेख गरिएको छ ।

त्यस्तै चिया, पानी, चिसो तथा नास्तामा ३ लाख १० हजार ९१० खर्चेको आयोजकले प्रतियोगितामा सहभागी अतिथि सत्कारमा ७ लाख ८३ हजार ३३९ रुपैयाँ खर्च भएको देखाएको छ ।

प्रतियोगितामा खटिएका कर्मचारी तथा कामदारलाई तलब र भत्ता १ लाख खर्चेको देखाएर ११ दिन आफिल सञ्चालन गरेको १ लाख ३७ हजार ५ रुपैयाँसँगै १ लाख ७१ हजार ७३० रुपैयाँ मसलन्द खर्च देखाएको छ ।

खर्च भएको रकमको प्रत्येकको शीर्षक खुलाउनु पर्छ । तर, छिटपुट खर्च भनेर अन्यमा १ लाख ६० हजार ६७५ खर्च भएको उल्लेख गरेको छ । त्यस्तै रेफ्रि खर्च ६ लाख ९९ हजार १०३, आयोजक पोशाकमा १ लाख २६ हजार ४३२, यातायात १ लाख, खेलाडी दैनिक ज्यालामा ३३ लाख ३० हजार, पुरस्कारमा २८ लाख १ हजार ६०० मेडिकल ज्याला ४२ हजार ५०० खर्च भएको जनाएको छ ।

नवनिर्मित पिप्लेक्याम्पा रंगशालाको चौर व्यवस्थापनका करिब ६ लाख खर्चेको आयोजकले सुरक्षाकामा १ लाख ३९ हजार ८०० र उद्घाटन समापनमा १ लाख ९९ हजार ८५ रुपैयाँ खर्च भएको विवरणमा लेखेको छ ।

लगानी गर्नेले हिसाब खोज्नुपर्छः अध्यक्ष खड्गी
प्रतियोगिता सञ्चालनका लागि लगानी गर्ने स्थानीय तह, प्रदेश खेलकुद लगायतले आयव्यय छानवीन गनुपर्ने खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गीले बताए । छानवीन गरे आफुहरु सहयोग गर्न तयार रहेको उनले बताए । ‘खेलकुद विकास समिति सधै खेल र खेलाडीको हितमै छ, लगानी गरेपछि कहाँ के–के भयो ? भनेर लगानी गर्नेहरुले बुझ्नुपर्दैन ?,’उनले भने,‘लगानी गर्ने संस्थाहरुले छानबिन गर्छ भने हामी पनि सहयोग गछौँ ।’

प्रतियोगिता सञ्चालनका लागि जिल्लाको १० स्थानीय तहले ५७ लाख ८७ हजार ४६९, बागमती प्रदेश खेलकुद परिषद्ले ४१ लाख ९१ हजार ३८५, गेट टिकटबाट २२ लाख ३ हजार ६००, हेटौंडा स्कुल अफ म्यानेजम्यान्टले ६ लाख ९८ हजार र अन्य विभिन्न संस्था तथा ब्यक्तिले २ लाख ७६ हजार उपलब्ध गराएको थियो ।

जहाँ अनियमितता छ, टुलुटुलु हेरेर बस्ने कुरा हुँदैनः उपमेयर बानियाँ
गोल्डकपको आयव्यय पादर्शी छैन भने खोजी गनुपर्ने हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले बताउँछन् । ‘उहाँहरुको हिसाब पारदर्शी छ छैन ? पारदर्शी छ भने ठिक छ, स्थानीय तहले लगानी गरेको खेलकुद महोत्सब हो,’ उनले भने, ‘जहाँ अनियमितता छ, त्यहाँ टुलुटुलु हेरेर बस्ने कुरा हुँदैन ।’

छानविन गछौँः सदस्य सचिव भण्डारी
बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले आर्थिक प्रतिवेदन हेरेर हिसावकिताब छानविन गरिने बताए । ‘हामीले उपलब्ध गराएको रकम कहाँ–कहाँ खर्च भएको छ, प्रतिवेदन हेरेर छानविन गर्न सकिन्छ,’ सदस्य सचिव भण्डारीले भने ।

खर्च स्पष्ट छः अध्यक्ष लामा
प्रतियोगितामा खर्च भएको रकम स्पष्ट रुपमा आयव्यय विवरणमा प्रस्तुत गरिएको अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाले दाबी गरेका छन् । खर्च भएको सबै रकमको बील भरर्पाई चुस्तदुरुस्त रहेको र जुनसुकै समयमा हेर्न सकिने अध्यक्ष लामाले बताए ।

आयव्ययको पुरा विवरण