हेटौंडा – जिल्ला फुटलब संघ मकवानपुरले रेफ्री कुट्ने क्लबका म्यानेजर, खेलाडी र दर्शकलाई कारवाही गरेको छ । मंगलबार अध्यक्ष टिकाराम लामाको अध्यक्षतामा बसेको बैठकले द रिभाईवल क्लबका म्यानेजर कृष्ण बहादुर ठकुरी, क्लबका खेलाडी सुनिल खड्कीलाई ३–३ बर्ष र कप्तान तथा गोलरक्षक अनिल लोलाई २ बर्ष प्रतिबन्ध लगाएको हो ।
त्यस्तै द रिभाईवल क्लबलाई ३ बर्ष र सोही क्बलका समर्थक ओम गुरुङ(कृष्ण) लाई १ बर्षको प्रतिबन्ध लगाएको हो । संघको निर्णय अनुसार कारवाही पर्ने क्लब, म्यानेजर, खलाडीले एन्फाद्वारा आयोजित तथा एन्फाका रेफ्रीले आयोजना गरेको प्रतियोगितामा तोकिएको अवधिभर सहभागिता जनाउन पाउँने छैनन् भने दर्शक गुरुङले मैदान क्षेत्रमा प्रवेश गरेर खेल हेर्न बन्धेज गरिएको छ ।
जिल्ला फुटबल संघ मकवानपुरद्वारा आयोजित जिल्ला फुटलब लिग छनोट प्रतियोगिताको छैठौँ खेलको क्रममा श्री पञ्चसिल युवा क्लबसंग ३–२ गोल अन्तरले पराजित भएपछि द रिभाईबल क्लबका म्यानेजर, खेलाडी र समर्थक मिलेर विशाल घलानको नेतृत्वको रेफ्री टोलीमाथि हातपात तथा अभद्रव्यवहार गरेका थिए ।
हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा सोमबार पञ्चेसिल र द रिभाईबलको खेल सकिएपछि घलानको नेतृत्वको रेफ्री टोलीमाथि हातपात भएको थियो । उनीहरुले उक्त खेलको क्रममा रेफ्रीले लिएको निर्णयप्रति असन्तुष्टि जनाउँदै हातपात तथा अभद्रव्यवाहर गरेको बताईएको छ ।
सुरक्षा चुनौतीका कारण देखाउँदै रेफ्रीहरुले खेल नखेलाउने भनेपछि संघ कारवाही गर्न बाध्य भएको अध्यक्ष लामाले बताए । ‘प्रतियोगिताको नियमबारे पहिले नै जानकारी दिएका थियौँ, उहाँहरुबाट मैदानमै अनुशासनहीन गतिविधि भयो,’ उनले भने, ‘रेफ्रीबाट पनि सुरक्षाको कारण देशभर भइरहेको खेल नखेलाउने दवाब आयो, फुटबल खेल बचाउनकै लागि संघ कारवाही गर्न बाध्य भयो।’