हेटौंडा – मकवानपुर हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटे चेकपोष्टबाट कासको थाल र कचौरा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका–७ बस्ने ५० बर्षीय वेद कार्की रहेका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत शुक्रबार विहान प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले काँकडभिट्टाबाट काठमाडौंतर्फ जादै गरेको ग.१ ख ९६३४ नम्बरको यात्रु बाहक बसबाट कासको थाल र कचौरा बरामद गरेको हो ।
चेकजाँच गर्ने क्रममा बसको डिक्कीबाट बिल भन्दा बढी सामान लुकाएर ल्याएको कासको थाल–२५० थान र कासको कचौरा–३९४ थान सहित कार्कीलाई पक्राउ गरिएको बागमती प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार बरामद गरिएको सामान ३ लाख ५० हजार मुल्य बराबरको रहेको छ । कार्कीलाई नियन्त्रणमा लिएर घटनाको थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।