प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

विश्वकप क्रिकेट : आज अस्ट्रेलिया र अफगानिस्तान भिड्दै

२०८० कार्तिक २१, मंगलबार ०८:५३ बजे

काठमाडौं – एकदिवसीय विश्वकप क्रिकेटको ३९ औँ खेल अस्ट्रेलिया र अफगानिस्तानबिच मुम्बईको वानखेडे स्टेडियममा हुँदैछ । खेल दिउँसो २:१५ बजे सुरु हुनेछ ।

यो खेल दुवै टोलीका लागि निकै महत्त्वपूर्ण छ । यो खेल जितेर पाँच पटकको विश्व च्याम्पियन अस्ट्रेलिया सेमिफाइनलमा पुग्ने छ । योसँगै यो विश्वकपमा आफ्नो प्रदर्शनले सबैलाई चकित पारेको अफगानिस्तानले यो खेल जित्यो भने सेमिफाइनलको दौडमा न्युजिल्यान्ड र पाकिस्तानलाई पनि उछिनेर अघि बढ्न सक्छ ।

अस्ट्रेलिया यस विश्वकपमा उत्कृष्ट लयमा छ, पहिलो दुई खेलमा हार बेहोरेपछि पाँच खेल जितेको छ । सात खेलमा पाँच जित र दुई पराजयपछि १० अङ्क जोडेको टोली अङ्क तालिकाको तेस्रो स्थानमा छ ।

अर्कोतर्फ अफगानिस्तानले यस विश्वकपमा पूर्व च्याम्पियन इंग्ल्याण्ड, पाकिस्तान र श्रीलंका जस्ता तीन ठुला टोलीलाई पराजित गरेको छ । सात खेलमा चार जित र तीन पराजयपछि ८ अङ्क जोडेको टोली छैटौँ स्थानमा छ ।

एकदिवसीयमा रेकर्ड अस्ट्रेलियाको पक्षमा एकतर्फी हो । यी दुईबीच एकदिवसीय विश्वकपमा अहिलेसम्म कुल दुई खेल खेलिएका छन् । दुवैमा अस्ट्रेलियाले जित हात पारेको छ । विश्वकपका खेलबाहेक एकदिवसीयमा दुई टोलीबिच एउटा मात्र खेल भएको छ । जुन सन् २०१२ मा भएको थियो, जसमा अस्ट्रेलिया ६६ रनले विजयी भएको थियो। यसको मतलब अफगानिस्तानको टोलीले आज जित्यो भने यो अस्ट्रेलियाविरुद्धको एकदिवसीयमा पहिलो जित हुनेछ।