आन्तरिक राजस्व विभागले व्यावसायिक कारोबारका रकमहरू अब व्यक्तिगत बैंक खातामा राख्न नपाइने व्यवस्था गरेको
छ ।
आर्थिक विधेयक, २०८१ अन्तर्गत आयकर ऐन, २०५८ मा थपिएको दफा ८१ क. अनुसार, अबदेखि व्यावसायिक कारोबार बापत प्राप्त हुने नगद, चेक, क्यूआर कोड वा अन्य विद्युतीय माध्यमबाट प्राप्त रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने भएको हो ।
साथै, यदि कसैले उल्लङ्घन गरेमा, प्रत्येकपटकको अनुगमनमा रु. ५,००० वा जम्मा रकमको २% बराबरको शुल्क लाग्ने व्यवस्था गरिएको छ ।
आन्तरिक राजस्व विभाग, करदाता सेवा शाखाका अनुसार, यस कानुनी व्यवस्थाको उद्देश्य व्यवसायमा पारदर्शिता र कर प्रणालीलाई थप मजबुत बनाउने रहेको छ ।
विभागले सबै करदाता, व्यवसायी, तथा सरोकारवालाहरूलाई यो प्रावधानको पूर्ण पालना गर्न आग्रह गर्दै, उल्लङ्घन नगर्न अनुरोध गरेको छ ।