हेटौँडा – नेपाली कांग्रेस मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश ‘ख’का सचिव नवराज पौडेल उम्मेदवारी मनोनयनका दिन नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरी वडाध्यक्षका उम्मेदवार भएका छन् ।
मनहरी गाउँपालिका वडा नम्बर १ का बासिन्दा पौडेलले कांग्रेस परित्याग गरी एकीकृत समाजवादीबाट वडाध्यक्षका उम्मेदवार बनेका हुन् । प्रदेश सभापति रञ्जन कालाखेती भने मनहरी गाउँपालिकामा कांग्रेसबाटै पालिका अध्यक्षको उम्मेदवार हुँदा सचिव पार्टी परित्याग गर्ने अवस्थामा पुगेका हुन् ।
‘म समाजवादी यात्राकै यात्री थिएँ, पहिला कम्युनिष्ट थिएँ, कांग्रेसमा भूलवश पुगेँ तर समाजवादी यात्रामा फेरि जोडिएको छु,’पौडेले भने, ‘समाजवादी यात्रा जनताको जीवन र दैनिकीसँग जोडिनु पर्छ, बाटो, भ्युटावर, पिचले मात्रै समाजवादी यात्रासँग सरोकार राख्दैनन् ।’
‘माधव नेपाल पार्टी महासचिव हुँदाताकाको जेष्ठ नागरिक भत्ता र गगन थापा स्वास्थ्यमन्त्री हुँदा जनताले पाएको स्वास्थ्य वीमा कार्यक्रम समाजवादको अध्याय हो,’ पौडेलले भन्नुभयो, ‘मनहरी वडा नम्बर १ मा म सबै घरमा स्वास्थ्य वीमा कार्यक्रम पु¥याउने छु, राज्यले नसके अन्य स्रोतहरु खोजेर भए पनि वडा नम्बर १ मा सबै घरमा स्वास्थ्य सेवा पु¥याउन पहल गर्नेछु ।’
पौडेलले वडा नम्बर १ मा २०११ सालदेखि बसेकाहरुले जग्गाको लालपूर्जा नपाएकाले लालपूर्जाका लागि काम गरिने बताए । ‘म आफैँ पनि अव्यवस्थित बसोबासी हुँ, मेरै परिवारले ६० वर्ष प्रयोग गर्दा पनि लालपूर्जा पाएका छैनन्, मेरो वडाध्यक्षको कार्यकाल लालपूर्जा वितरणमै केन्द्रित हुनेछ ।’
पौडेलले आफ्नो सेवासुविधाको रकम सबै नागरिकको सेवामा लगानी गर्ने र १० प्रतिशत सामाजिक क्षेत्रमा लगाउने बताएका छन् । उनले कुनै सेवासुविधा नलिने बताए ।‘वडामा काठको पोल अन्त्य भएको छ, पानीका समस्या टर्दै गएका छन्,’ पौडेलले भने, ‘चकरीमा टि हाउस, गोगनपानीमा भ्यु टावर र मकरी उकालोमा मोडर्न युवा पार्क निर्माणको काम हुँदैछ, वडाको मुहार फेर्न अरु ५ वर्ष सक्रिय भएर लाग्नेछु ।’