काठमाडौँ। काठमाडौँको बौद्धमा आज अपराह्न भएको आगलागीमा परी एक अपाङ्गता भएकी महिलाको मृत्यु भएको छ।
काठमाडौँ महानगरपालिका वडा नम्बर ६ चेमजुङ गल्लीस्थित हरिप्रसाद गौतमको साढे ३ तले घरको भुईं तलाको कोठामा आगलागी हुँदा सोही कोठामा बस्ने काभ्रेपलाञ्चोक चाँैरी देउराली घर भएकी ६५ वर्षीया उर्मिला तामाङको मृत्यु भएको हो।
उक्त आगलागी अपराह्न ४ बजेको समयमा भएको र ४:२२ बजे आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले थाहाखबरलाई जानकारी दिए।
सूचना प्राप्त हुने वित्तिकै तत्काल प्रहरी वृत बौद्धबाट प्रहरी नायब उपरीक्षक जयश्वकर रिमालको नेतृत्वको प्रहरी टोलीले स्थानीयवासको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो।
आगलागीबाट अपाङ्गता भएकी उर्मिला तामाङ कोठामा सुतिरहेको अवस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ।
आगलागीबाट झ्याल ढोका, लत्ता कपडा पूर्णरुपमा जलेको पाइएको छ। आगलागीको कारण नखुलेको र घटनाका सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको बोहराले बताए।