प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

मुकुललाई रास्वपा महामन्त्री नभनेको आयोगको प्रष्टोक्ति, केही मिडियाले अपव्याख्या गरेको आरोप

२०८२ असार ८, आईतबार १९:५४ बजे

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री मुकुल ढकाल भएको भन्ने पत्र नलेखेको स्पष्ट पारेको छ । केही सञ्चारमाध्यमले आयोगको पत्रलाई गलत व्याख्या गरेको टिप्पणी प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गरे ।

उनले भने, ‘निर्वाचन आयोगले मुकुल ढकाल महामन्त्री भनेको होइन, गलत व्याख्या गरेर समाचार सम्प्रेषण भयो । विवरण चाहियो भनेर डा.मुकुल ढकालले सूचना माग गर्नुभएको थियो । मैले नै मागेको सूचना दिनु भनेर तोक लगाइदिएको थिएँ । तर, कर्मचारीले पत्रमा लेखेको व्यहोरालाई सञ्चारमाध्यमले गलत व्याख्या गरे ।’

रास्वपाले एक वर्ष अगाडि नै विवरण अद्यावधिकका लागि निवेदन दिएको थियो । पार्टीका पदाधिकारी हेरफेर भएको पत्र दर्ता भए पनि पुर्ण विवरण पेश नगरेका कारण अद्यावधिक हुन नसकेको आयोगको भनाइ छ ।

आयोगले रास्वपाको विवरण अद्यावधिक भएको छैन भनेर मात्र दिएको पत्रलाई सञ्चार माध्यमले गलत व्याख्या गरेको भण्डारीले नेपाल प्रेससँग बताए ।

 उनले भने, ‘रास्वपाले विवरण अद्यावधिक गर्न भनेर आयोगमा पत्र दर्ता गरेको थियो । तर, पुर्ण रुपमा आवश्यक पर्ने कागजात तथा विवरण पेश गरिसकेको थिएन, त्यसैले अद्यावधिकको प्रक्रियामै थियो ।’

रास्वपाका प्रवक्ता मनिष झाले भने आफुहरुले आयोगमा पत्र दर्ता गरिसकेपछि आयोगले विवरण पुगे नपुगेको कुनै पनि जानकारी नगराएको बताए । उनले प्रमाण नपुगेको भए ३० दिनभित्र भनिसक्नुपर्नेमा अहिलेम्म किन कुरेर बसेको भन्दै आयाेगकाे आलाेचना गरे ।

उनले भने, ‘प्राविधिक रुपमा कागजपत्र पुगे नपुगेको बारेमा निर्वाचन आयोगले हामीलाई भन्नुपर्यो नि । बढीमा ३० दिन भित्र खवर गर्नुपर्छ । २०८१ असार २५ गतेको केन्द्रीय समिति बैठकबाट नेतृत्व फेरबदल भएपछि २०८१ साउन १७ गते हामीले आयोगलाई जानकारी गराएका छौ । अहिले आएर ११ महिनापछि २०८२ असारमा जवाफ दिने होइन । आयोग ११ महिनासम्म किन चुप लागेर बसेको हो ? आयोगको नियतिमा शंका गर्ने ठाउँ बन्यो ।’

प्रवक्ता झाले आफ्नो पार्टीका नेता पटक–पटक निर्वाचन आयोगमा पुग्दा पनि कुनै जानकारी नगराएको बताए । उनले भने, ‘हामी पटक–पटक निर्वाचन आयोगमा पुगेका छौ । तर, त्यतिबेला केही पनि भन्नुभएन । अहिले आएर ११ महिनापछि विवरण र प्रमाण पुगेन भनेर भन्न मिल्छ ? संवैधानिक आयोग भएपछि नियम सिकाउने उहाँहरुले नै हो नि ।’

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीका अनुसार सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि रास्वपाले आइतबार नै थप कागजात पेश गरिसकेको छ । अबको एक साताभित्र अद्यावधिक भइसक्ने उनले बताए ।

उनले भने, ‘सञ्चार माध्ययममा समाचार आएपछि रास्वपा पनि सचेत भएर आजै सबै विवरण पेश गरिसकेको छ । लामो समय उहाँहरु चुप लागेर बस्नुभएको थियो । आयोगको पनि आफ्नो ध्यान त्यतातिर गएको थिएन । अब एक दुई दिन भित्रमा नभए बढीमा एक साता भित्र अद्यावधिक भइसक्छ ।’