हेटौंडा – बाघको छाला सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलाली गोदावरी नगरपालिका–२ तेघरी खानेपानी ट्याङ्की नजिकबाट संरक्षित बन्यजन्तु बाघको एक थान छाला र करिब दुई किलोग्राम हड्डीहरू सहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा डोटी जोरायल गाउँपालिका–२ बस्ने समिर ओली, कैलाली चुरे गाउपालिका–६ बस्ने टेक बहादुर रावत, सोही ठाउँ बस्ने धिरेन्द्र रावत र बैतडी डिलासैन गाउँपालिका–२ बस्ने राजेन्द्र सिंह भण्डारी रहेका छन् ।
अवैध किसिमको बाघको छला ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेती समेतबाट खटिएको प्रहरीले बोलेरोबाट बाघको छाला सहित चार जनालाई पक्राउ गरेको हो ।
बुडरबाट धनगढीतर्फ आउँदै गरेको सु.प.प्र.०४–००१ च ०००६ नम्बरको बोलेरो रोक्न खोज्दा नरोकेपछि प्रहरीले उक्त बोलेरो पछ्याएको थियो ।
समिर ओलीले चलाएको उक्त बोलेरोको पिछा गर्दै जाँदा बोलेरोको सिटमा लुकाएर ल्याएको अवस्थामा छाला र हड्डीहरू बरामद गरिएको प्रहरीले जनाएको छ ।
बाघको छाला र हड्डी ओसारपसारमा टेक बहादुर, धिरेन्द्र र राजेन्द्र सिंह समेतको मिलेमतोमा रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ छ । उनीहरूलाई जिल्ला वन कार्यालय कैलालीमा पठाउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।