प्रहर खबर
 २०८३ भाद्र १३, शनिवार    

मनोनयन दर्ताः यस्तो छ मकवानपुरको पछिल्लो सङ्ख्यात्मक विवरण, कुन पदमा कति ?

२०७९ बैशाख १३, मंगलबार ०५:१० बजे

हेटौंडा – आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मकवानपुरमा हालसम्म दुई हजार ३४ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले आज बिहान साढे १० बजे सार्वजनिक गरेको तथ्याङ्कानुसार जिल्लाका दश स्थानीय तहमा आइतबार र सोमबार दुई हजार ३४ जनाले मनोनयन दर्ता गरेको हो ।

तथ्याङ्कानुसार पालिकाको प्रमुखमा २५ र उपप्रमुखमा १२ जनाको मनोनयन दर्ता भएको छ । त्यस्तै पालिका अध्यक्षमा ५८ र उपाध्यक्षमा ३६ जनाकाृ मनोनयन दर्ता भएको छ । वडाध्यक्षमा ४७९, महिला सदस्यमा ३५५, दलित महिला सदस्यमा ३०८ र वडा सदस्यमा ७६१ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।

निर्वाचन कार्यतालिका अनुसार आइतबार र सोमबार गरी दुई दिन मनोनयन दर्ताको समय निर्धारण गरिएको थियो । आज उम्मेदवारको विरोधमा उजुरी लिने कार्यतालिका छ । वैशाख १४ र १५ गते मनोयनपत्र जाँच तथा उजुरीमाथि जाँचबुझ र निर्णय दिने, वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन तथा वैशाख १६ गते उम्मेदवारको नाम फिर्ता तथा उम्मेदारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।जिल्लामा १६५ मतदानस्थल र ३५६ मतदान केन्द्र रहेको छ । जिल्लामा दुई लाख ९४ हजार ९१९ मतदाता छन् ।