हेटौंडा – सत्तारुढ गठबन्धनले मकवानपुरको १० वटा स्थानीय तहको भागबण्डा टुङ्गो लागेको छ । नेपाली कांग्रेस बागमती प्रदेश सभापती इन्द्र बहादुर बानियाँको संयोजकत्वमा बसेको प्रदेश स्तरीय गठबन्धनले बाँकी एक नगरपालिका र आठ गाउँपालिकाको भागबण्डा गरेको हो । यसअघि गठबन्धनका शीर्ष नेताको बैठकले हेटौंडा उपमहानगरपालिका नेकपा एकिकृत समाजवादीलाई दिने निर्णय गरेको थियो ।
भागबण्डा अनुसार नेपाली कांग्रेसले ५ स्थानीय तहको प्रमुख र ५ स्थानीय तहको उपप्रमुख पाएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले ३ स्थानीय तहको प्रमुख र ५ स्थानीय तहको उपप्रमुख पाएको छ भने नेकपा एकिकृत समाजवादीले दुई स्थानीय तहको प्रमुख पाउँदा कुनै पनि स्थानीय तहको उपप्रमुख पाएन ।
जसमा थाहा नगरपालिकामा मेयर माओवादी केन्द्र र उपमेयरमा कांग्रेसले पाएको छ । मकवानपुरगढीको अध्यक्ष नेपाली कांग्रेस र उपाध्यक्ष माओवादी केन्द्र, भिमफेदीमा माओवादी र उपाध्यक्ष कांग्रेस, इन्द्रसरोबरको अध्यक्ष एकिकृत समाजवादी र उपाध्यक्ष कांग्रेस, मनहरीको अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादी, राक्सिराङ्गको अध्यक्ष कांग्रेस र माओवादी, कैलाशको अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादी, बकैयाको अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादी, बागमतीको अध्यक्ष माओवादी र उपाध्यक्ष कांग्रेसको भागमा परेको छ ।
