प्रहर खबर
 २०८३ भाद्र १४, आइतवार    

मकवानपुरको कुन पालिकाबाट कति फिर्ता लिए उम्मेदवारी ?

२०७९ बैशाख १७, शनिबार १५:४६ बजे

हेटौंडा – वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा मकवानपुरबाट १३६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । जिल्लाका १० स्थानीय तहमा नगरप्रमुख, उपप्रमुख र वडाध्यक्ष तथा सदस्यमा गरी १३६ उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ ।

उम्मेदवारी फिर्ता लिनेमा हेटौँडा उपमहानगरपालिकामा ४९, राक्सिराङ गाउँपालिकामा २१, थाहा नगरपालिकामा १५, बकैया गाउँपालिकामा १८, मकवानपुरगढीमा ११, इन्द्रसरोवरमा आठ, बागमती र मनहरी गाउँपालिकामा ५–५ जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कैलाश गाउँपालिकामा तीन र भिमफेदी गाउँपालिकामा एक जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

जिल्लाका १० स्थानीय तहमा दुई हजार ६७ जनाले उम्मेदवारी दर्ता गराएका थिए । जिल्लामा नगरप्रमुख, उपप्रमुख र वडाध्यक्ष तथा सदस्य गरी कूल एक हजार ९३२ को उम्मेदवारी कायम रहेको कार्यालयले जनाएको छ ।

जिल्लामा दुई लाख ९४ हजार ९१९ जनाले मतदाता रहेको सो कार्यालयले जनाएको छ । जिल्लामा स्थानीय तहको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष गरी २० तथा १०२ वडाका वडाध्यक्ष र सदस्य पदमा ५२० गरी कूल ५३० पदको मतदान हुने बताइएको छ ।

यसअघि विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा जिल्लामा कूल मतदाता सङ्ख्या दुई लाख २७ हजार ७५९ रहेको थियो । जिल्लामा १६५ मतदान स्थल र ३५६ मतदान केन्द्र रहेको बताइएको छ ।