प्रहर खबर
 २०८३ कार्तिक २, आइतवार    

बागमती प्रदेश सभा बैठक: जनहितमा काम गर्न ध्यानाकर्षण

२०८० जेठ १०, बुधबार ०२:३९ बजे

हेटौँडा – बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले प्रदेशका नागरिकको हितमा काम गर्न ध्यानाकर्षण गराएका छन्। बागमती प्रदेश सभाको मङ्गलबारबाट सुरु भएको दोस्रो अधिवेशनको पहिलो बैठकमा सभा सदस्यले ध्यानाकर्षण गराएका हुन्।

नागरिकले अनुभूति गर्ने गरी काम गर्नुपर्नेमा सभा सदस्यले जोड दिएका छन्। बैठकमा नेपाली कांग्रेस प्रदेश सभाका सदस्य कुन्दनराज काफ्लेले जनहित र सङ्घीयता कार्यान्वयन गर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने बताउनुभयो। उहाँले बजेट निर्माणमा अझै केन्द्रमा आश्रित हुने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भ्रष्टाचार र बिचौलिया बढेको सार्वजनिक रूपमा गुनासो आएको चर्चा गर्दै प्रदेश सरकारले पनि यसमा काम गर्न ध्यानाकर्षण गराउनुभयो।

नेकपा एमालेका प्रदेश सभाका सदस्य मधुसूदन पौडेलले चालु आवको पुँजीगत खर्चका आधारमा प्रदेश सरकारको कामका बारेमा प्रश्न उठेको भन्दै आलोचना गर्नुभयो। आर्थिक मन्दी र सङ्कटले जनताले चुलो बाल्न नपाएका बेला सरकारले चिट्ठा ऐन ल्याएको भन्दै कटाक्ष गर्नुभयो। प्रदेश प्रमुखले चिट्ठासम्बन्धी विधेयक फिर्ता पठाएकोमा प्रशंसा गर्नुभयो।

नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य राधिका तामाङले जनमुखी बजेट आउँछ कि आउँदैन भनेर नागरिकले प्रदेशलाई हेरिरहेको र नीति तथा कार्यव्रmम अनुसार बजेट आउनुपर्नेमा जोड दिनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव थापाले सरकारले बजेट खर्च गर्न नसकेको र आर्थिक रूपमा देश सङ्कटमा परेको सन्दर्भ उल्लेख गर्दै मन्त्रालय बढाउने सरकारको तयारी उचित नभएको भन्दै आलोचना गर्नुभयो।

नेकपा एकीकृत समाजवादीका प्रदेश सभा सदस्य कृष्णप्रसाद शर्मा खनालले केन्द्रले प्रदेशको एकल र साझा अधिकारमाथि हस्तक्षेप गर्दै आएकाले त्यसका विरुद्धमा सबै एक हुनुपर्नेमा जोड दिनुभयो। नेपाल मजदुर किसान पार्टीका सुरेन्द्रराज गोसाईंले बढ्दो भ्रष्टाचारका कारण देशको आर्थिक अवस्था अप्ठ्यारोमा परेको भन्दै मन्त्रीको हेरफेर नै अहिलेको प्रदेश सरकारको काम बनेको आरोप लगाउनुभयो। हाम्रो नेपाली पार्टीका प्रदेश सभा सदस्य शैलेन्द्रमान वज्राचार्यले साझा एजेन्डा विकास भएकाले सबै एक हुनुपर्ने बताउनुभयो। गोरखापत्र दैनिकबाट