प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

हेटौंडा बसपार्कमा प्रर्दशनी मेला हुने, स्टल निःशुल्क, सहभागीलाई यातायातको पनि व्यवस्था

२०८० मंसिर २६, मंगलबार २०:०८ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० ले घरेलु उत्पादन प्रर्दशनी तथा नृत्य प्रतियोगिता गर्ने भएको छ । मंगलबार पत्रकार सम्मेलन आयोजना गरी वडाअध्यक्ष फुर्वा दोर्जे लामाले आउँदो पुस २ र ३ गते हेटौंडा बसपार्क परिसरमा घरेलु उत्पादन प्रर्दशनी तथा नृत्य प्रतियोगिता आयोजना गरिने जानकारी दिए ।

उनले स्थानीय उत्पादनहरुलाई प्रबर्द्धन गर्ने, उत्पादित वस्तुहरुको बजारीकरण गर्ने र स्वरोजगार सिर्जनामा सहयोग पुऱ्याउने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागेको बताए । उनका अनुसार प्रदर्शनीमा हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडाहरुमा किसान तथा व्यवसायीहरुले उत्पादन तथा निर्माण गरेका वस्तु तथा सेवाहरुको प्रदर्शनी तथा बिक्री–वितरण गरिनेछ ।

दुई दिनसम्म सञ्चालन  हुने प्रर्दशनी मेलामा घरेलु उत्पादनका विभिन्न ३० वटा स्टलहरु राखिने वडाअध्यक्ष लामाले बताए । स्टलहरु निःशुल्क उपलब्ध गराईने छन् भने स्टल राख्ने व्यवसायी वा सहभागिहरुलाई यातयातको व्यवस्था गरिएको उनले बताए । 

त्यस्तै स्थानीय जातजातिका भेषभुषा, संस्कृतिको संरक्षणमा सहयोग पुऱ्याउन कला तथा संस्कृति झल्कने गरि नृत्य प्रतियोगिताको आयोजना गर्न लागेको वडाअध्यक्ष लामाले बताए । प्रतियोगितामा हेटौंडा उपमहानगरका १९ वटै वडाका ईच्छुक कलाकारहरुले सहभागिता जनाउन सक्नेछन् ।

नृत्य प्रतियोगितामा प्रथम, द्वतीय र तृतिया हुनेले क्रमशः ५० हजार, ३५ हजार र २० हजार नगद प्राप्त गर्नेछन् । त्यस्तै सान्त्वना हुने चार जनाले नगद ५–५ हजार प्राप्त गर्नेछन् । प्रदर्शनी मेला तथा सांस्कृतिक कार्यक्रमलाई सभ्य र भव्य बनाउन एक मूल समिति र ६ वटा उपसमितिहरु निर्माण गरिएको बताईएको छ । 

प्रदर्शनीमा टोल विकास संस्था नगर समन्वय समिति, टोल विकास वडा समन्वय समिति, उद्योग बाणिज्य संघ, जाल्पा देवी महिला उधमी केन्द्र स्थानीय क्लव, आमा समुह, विद्यालय लगायत विभिन्न संघ संस्थाहरुको सहकार्य रहने वडाअध्यक्ष लामाले बताए । पत्रकार सम्मेलनमा वडा सदस्य साधना श्रेष्ठ, इश्वर प्रसाद मैनाली लगायतकाको आतिथ्यता रहेको थियो ।

तस्वीरः नमस्ते हेटौंडा