काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको छ । जस अनुसार प्रतिनिधिसभाका लागि २ हजार ४१२ उम्मेदवार चुनावमा भिड्ने छन् भने प्रदेशसभाका लागि ३ हजार २२४ जना उम्मेदवार कायम भएका छन् ।
मंसिर ४ मा हुने निर्वाचनका लागि दर्ता भएका उम्मेदवारमध्ये प्रतिनिधिसभातर्फ ११९ र प्रदेशसभातर्फ २५७ उम्मेदवारी फिर्ता लिएपछि उक्त सङख्या कायम भएको निर्वाचन आयोगले जनाएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ सबैभन्दा बढी उम्मेदवार काठमाडौं क्षेत्र नम्बर १ र सबैभन्दा कम हुम्ला र मनाङमा रहेको निर्वाचन आयोगले जनाएको छ ।
काठमाडौ १ मा १० महिलासहित ३२ जना उम्मेदवार छन् । सबैभन्दा कम हुम्ला र मनाङमा ३ –३ जना उम्मेदवार छन । बागी र स्वतन्त्र उम्मेदवारहरू मध्येबाट ३ सय ७६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
मकवानपुरमा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रका लागि दल र स्वतन्त्रबाट ६९ जना उम्मेदवार छन् । जसमा प्रतिनिधिसभाका लागि २६ र प्रदेशसभाका लागि ४३ जना रहेका छन् ।
प्रतिनिधि सभातर्फ मकवानपुर क्षेत्र नम्बर १ मा सदस्यमा २ जना स्वतन्त्रसहित १६ जना र क्षेत्र नम्बर–२ मा एक जना स्वतन्त्रसहित १० जनाको उम्मेदवारी परेको छ । त्यस्तै क्षेत्र नं.१ को (क) मा १० जना र (ख) मा १५, क्षेत्र नं. २ को (क) मा ८ र (ख) मा १० जना उम्मेदवार छन् ।
निर्वाचन आयोगले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशनसँगै उम्मेदवारहरूलाई चुनाव चिन्ह पनि प्रदान गरेको छ ।