हेटौंडा – यही बैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदैछ । निर्वाचन आयोग निर्वाचन कार्यक्रम सफल पार्ने तयारीमा जुटेको छ । निर्वाचन सभ्य बनाउन आयोगले विभिन्न आचारसंहिता लागु गरेको छ ।
यतिबेला उम्मेदवारहरु भने भोट माग्न घरदैलो गर्न व्यस्त छन् । उम्मेदवारले चुनावी अभियान तीब्र बनाइरहँदा आचारसंहिताको भने ख्याल राखेको पाईंदैन ।
मकवानपुर जिल्लामा चिर्वाचन सम्बन्धी आचारसंहिता अधिकांश स्थान पालना भएपनि केही स्थानमा उल्लङ्घन भएको छ । चिर्वाचनमा होमिएको सत्तारुढ गठबन्धन र नेकपा एमालेको चुनाव प्रचारप्रसारमा आचारसंहिता उल्लङ्घन गरेको पाइएको हो ।

निर्वाचन आचारसंहित उल्लङ्घन गर्नेमा बागमती प्रदेशका मन्त्रीदेखि कर्मचारीसम्म छन् । प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्क्तानले गठबन्धनको उम्मेदवार जिताउन हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकालगायत स्थानमा भोट माग्न, सम्पर्क कार्यालय उद्घाटनका जस्ता चुनावी प्रचारप्रसारमा सक्रिय भएकी छन् ।
त्यस्तै हेटौंडा उपमहानगरपालिकाको मेयर हरिबहादुर महत आफ्नो पार्टीको उम्मेदवारलाई जिताउन भोट माग्दै लोभलाग्दो भाषण ठोकिरहेका छन् । बकैंया गाउँपालका अध्यक्ष दामोदर खनाल पनि गठबन्धनको उम्मेदवार विजयी गराउने दौडधुपमा व्यस्त देखिएका छन् । उनले भोट माग्न घरदैलो मात्रै गरेनन्, आफ्नो फेसबुकबाट पनि प्रचारप्रसार गरिरहेका छन् ।

आचारसंहिता उल्लङ्घन गर्नेमा उनीहरु मात्र होइनन् । निजामती कर्मचारी, शिक्षक, सार्वजनिक संस्थानका कर्मचारी र स्थानीय तहका कर्मचारीहरु पनि छन् । कर्मचारीहरु विभिन्न पार्टीको चुनावी प्रचारप्रसारमा देखिएका छन् । तर, यस विषयमा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालयले कुनै चासो नदेखाएको सर्बसाधरणको गुनासो छ ।
नेपाल सरकार, प्रदेश सकार, स्थानीय कार्यपालिका तथा स्थानीय कार्यपालिकाका पदाधिकारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष–विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नपाईने व्यवस्था निर्वाचन आचारसंहिताले गरेको छ ।
त्यस्तै सरकारी कर्मचारी, शिक्षकको हकमा पनि कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष–विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नपाईने व्यवस्था गरिएको छ । स्थानीय तह निर्वाचन निर्देशिका २०७८ मा निर्वाचन कार्यालयले आचारसंहिता उल्लंघन भए नभएको अनुगमन गरी उल्लंघन भएको पाइए तुरुन्त रोक लगाउनु पर्ने व्यवस्था गरिएको छ ।
निर्वाचन आचारसंहिता उल्लङ्घनको बिषयमा अनुगमन कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिसँग बैठक बसेर छलफल गरिएको र आचारसंहिता बिपरित नजाने सहमति भएको प्रजिअ पाण्डेले बताए ।
सार्बजनिक सवारी साधनमा राजनीतिक दलको झण्डा राखेर सर्बसाधारण यात्रु ओसारपसार गरेको पाइएको र त्यस्ता सार्बजनिक सवारीमा राखिएको झण्डा हटाउन सुरु गरिएको प्रजिअ भण्डारीले जानकारी दिए । सार्बजनिक सवारीसाधनबाट झण्डा नहटाएको खण्डमा भोलिदेखि प्रहरीले हटाउने पनि प्रजिअ पाण्डेले बताए ।