काठमाडौं – व्यावसायिक रेडियोहरूको छाता संगठन ब्रोडकास्टिङ एसोसियसन नेपाल (बान) को सातौं महाधिवेशन तथा १८ औं साधारणसभामा राजनीतिक दलका भ्रातृ संगठनले निर्वाचन समितिलाई नियन्त्रणमा लिएर भागबण्डामा नेतृत्व घोषणा गरेको भन्दै रेडियोकर्मीले हलबाट अलग्गै नेतृत्व घोषणा गरेका छन् ।
भक्तपुरको जर्मन पार्टी प्यालेसमा भएको महाधिवेशनमा निर्वाचन समितिलाई चुनावी प्रक्रिया अघि बढाउन नदिइएको आरोप विद्रोही पक्षले लगाएको छ । कांग्रेसनिकट प्रेस युनियन, एमालेनिकट प्रेस चौतारी र माओवादीनिकट प्रेस संगठनका पदाधिकारीले निर्वाचन समिति नै कब्जामा लिएर आइतबार राति नाम टाँसेको आरोप छ ।
राजनीतिक दलको भागबण्डामा कुमार भट्टराई अध्यक्ष, उज्ज्वल चौलागाईँ वरिष्ठ उपाध्यक्ष, गोविन्द रोस्यारा, दुर्गा अधिकारी र राजकुमार थापा उपाध्यक्ष तथा नविन राई महासचिव रहेको नेतृत्व घोषणा गरिएको छ । निवर्तमान महासचिव दुर्गा अधिकारीले भने बानको नेतृत्व सर्वसम्मत भई आफू उपाध्यक्ष बनेको भन्ने खबर गलत भएको र निर्वाचन प्रक्रिया नै पूरा नभएको बताएकी छन् ।
उनले सामाजिक सञ्जालबाटै बानको १८ औं वार्षिक साधारण तथा सातौं महाधिवेशनलाई व्यवस्थितपूर्वक सम्पन्न गर्न नसकेकोमा माफी माग्दै सामाजिक सन्जालमा नेतृत्व सर्वसम्मत चयन भएको भनी आएको खबर गलत भएको बताएकी छन् ।
महाधिवेशनमा अध्यक्ष पदका लागि उज्ज्वल चौलागाईँ र दुर्गा अधिकारी प्रमुख दाबेदार थिए । निर्वाचन समिति समक्ष मतदाता नामावली टुंगो लागेको थिएन । चौलागाईँले १९३ र दुर्गा अधिकारीले २०३ मतदाताको नाम लिस्ट दिएका थिए । तर, पार्टीका भ्रातृ संगठनले निर्वाचन समितिमार्फत आ–आफ्नो कोटाको लिस्ट तयार पारी सूचना टाँसेको रेडियोकर्मी दीपेन्द्र खनियाले बताए ।
राजनीतिक दलको हस्तक्षेपको विरोधमा महाधिवेशन हलबाट दिपेन्द्र खनिया अध्यक्ष र खगेन्द्र जोशी महासचिव रहेको समिति घोषणा गरी बहुसंख्यक रेडियो सदस्यहरूको हस्ताक्षर लिएर जिल्ला प्रशासनमा जाने तयारी भइरहेको विद्रोही पक्षले जनाएका छन् ।
निर्वाचन समितिले दलीय लिस्ट टाँसेर भागेकाले महाधिवेशन हलबाट चयन भएको नेतृत्वमात्र वैधानिक हुने उनीहरूको भनाइ छ ।