हेटौंडा। गुरु पूर्णिमाको अवसरमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ स्थित श्री कालिका आधारभूत विद्यालय र वडा नम्बर १६ स्थित जनप्रिय माध्यमिक विद्यालयमा आयोजना गरिएका विशेष कार्यक्रमहरुमा दुबै विद्यालयका लागि आर्थिक वर्ष २०८२/८३ मा ३/३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
पूर्वाधार विकास समिति सभापति तथा राप्रपाका सांसद माननीय दिपक बहादुर सिंहको विशेष पहलमा दुबै विद्यालयलाई कुल ६ करोड रुपैयाँ बजेट प्राप्त भएको विद्यालय प्रशासनले जनाएको छ।
कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, स्थानीय जनप्रतिनिधि र जनसमुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।
सहभागीहरुले बजेट विनियोजनलाई विद्यालयको पूर्वाधार सुदृढीकरण, शैक्षिक गुणस्तर अभिवृद्धि र समग्र शैक्षिक वातावरण सुधारका लागि महत्वपूर्ण अवसरका रूपमा लिएको बताएका छन्।
कार्यक्रममा बोल्दै सांसद सिंहले भने, “देशको समृद्धिका लागि शिक्षा र स्वास्थ्यमा लगानी गर्नु अत्यावश्यक छ।
विद्यालयको भौतिक सुधारसँगै गुणस्तरीय शिक्षा दिन सक्ने वातावरण बनाउन हामी निरन्तर लागिरहेका छौं।”
विद्यालय परिवारले सांसद सिंहप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले भविष्यमा विद्यार्थीको पठनपाठनमा थप सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।