हेटौंडा – मकवानपुरको छुट्टाछुटै स्थानमा लडेर दुई जना घाइते भएका छन् ।
राक्सिराङ गाउँपालिका वडा नम्बर ९ मा घरको रेलिङमा सामान झिक्ने क्रममा एक महिला लडी घाइते भएकी छन्। अन्दाजी ४० वर्षीया ओम कुमारी प्रजा आफ्नै घरको रेलिङबाट लडी दाहिने हात र खुट्टामा भित्री चोट लागेकी हुन्।
घटनाको जानकारी पाएपछि उनको श्रीमान्ले तत्कालै चितवनतर्फ उपचारका लागि लगेको बताएका छन्। घाइतेको अवस्था मध्यम रहेको र उनी बोल्न सक्ने अवस्थामा रहेको जनाइएको छ।
त्यस्तै बकैया गाउँपालिका वडा नम्बर ७, हर्दामाटो पकुरीमा घाँस काट्ने क्रममा एक महिला भिरबाट लडी घाइते भएकी छन्। अन्दाजी ६२ वर्षीया सुन माया भोम्जन (भोलन) चुनढुङ्गा भिरमा घाँस काट्ने क्रममा चिप्लिएर करिब ४०-५० फिट तल खसेकी हुन्।
घटनापछि उनलाई आफन्तले फेला पारी उपचारका लागि साँझ ५:३० बजे मकवानपुर सहकारी अस्पताल ल्याएका थिए। घाइते महिलाको शरीरका विभिन्न भागमा निलडाम रहेको र अवस्था मध्यम रहेको जनाइएको छ।
घटनाबारे थप जानकारी लिन अस्पतालमा खटिएको प्रहरी स्रोतले यसबारे पुष्टि गरेको छ। उपचारमा उनका श्रीमान् सुक बहादुर भोलन संलग्न रहेका छन्।