प्रहर खबर
 २०८३ कार्तिक ५, बुधवार    

सवारी दुर्घटनामा दुई जनाको मृत्यु, दुई जना घाइते

२०७९ श्रावण १३, शुक्रबार ०५:४६ बजे

हेटौंडा – तीन स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका १३ राजपुरमा बिहिबार बेलुकी सडकमा रहेको चौपायलाई ठक्कर दिएर मोटरसाइकल दुर्घटना हुँदा चालक धनगढी उपमहानगरपालिका ३ विशालनगरका ४४ बर्षीय विरेन्द्र शर्माको मृत्यु भएको छ । अत्तरियाबाट धनगढीतर्फ आउदै गरेको से ६ प ८०२८ नम्बरको मोटरसाइकल, सडकमा रहेको गाईलाई ठक्कर दिएर पल्टिएको थियो ।

दुर्घटनामा मोटरसाइकल पछाडी सवार सोही उपमहानगरपालिका १ बस्ने अन्दाजी ५५ बर्षीय निर्मल हमाल घाइते भएका छन्। उनको धनगढी स्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ । घाइते भएका चालकको अवस्था सु्धारोन्मुख रहेको प्रहरीले जनाएको छ ।

चितवनको रत्ननगर नगरपालिका ४ देवौलीमा बिहिबार बेलुका अचेत भएका साइकलयात्रीको ५६ वर्षीय कान्छा तामाङको मृत्यु भएको छ । साइकलमा सवार उनी बिहिबार बेलुकी ८ बजे घर नजिकै पुग्नसाथ अचेत भएका थिए । उनको उपचारका क्रममा बकुलहर सरकारी अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय रत्ननगर चितवनले जनाएको छ ।

त्यस्तै भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ८ बोडे साईबर चोकमा गएराती जिपमा स्कुटर ठोक्किँदा चालक गम्भीर घाइते भएका छन् । घाइते भएका स्कुटर चालक रुपन्देहीको बुटवल उपमहानगरपालिका ५ घर भइ बोडे बस्ने २२ वर्षीय बिमर्श कोईरालाको बि एण्ड बि अस्पताल ग्वार्को ललितपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सडक छेउमा पार्किङ गरी राखेको बा ३ च ९९९४ नम्बरको जिपमा गएराती पौने १० बजे लु ५४ प ५५९६ नम्बरको स्कुटर ठोक्किँएको थियो । जिप चालकलाई प्रहरी बृत ठिमी भक्तपुरले नियन्त्रणमा लिएको छ ।