प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

हेटौंडामा आँखा शिविर, ९० जनाको परिक्षण

२०८१ श्रावण ८, मंगलबार १७:४३ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं.१९ स्थित तपोवन टोल विकास संस्थामा मधुमेहका बिरामी तथा ५० वर्ष बढी उमेर भएका व्यक्तिहरूका लागी आँखाको पर्दा जाँच कार्यक्रम आयोजना गरीएको छ । टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिका र हेटौंडा सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा कार्यक्रम आयोजना गरीएको हो ।

टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ का वडा अध्यक्ष नरनाथ सुबेढी, हेटौंडा सामुदायिक आँखा अस्पतालका प्रमुख डा। सुनिल थकाली, प्रशासन प्रमुख सुधिर श्रेष्ठ, प्राविधिक मिन बहादुर रोकाया, टोल विकास संस्था नगर समन्वय समितिका उपमहासचिव देव कुमार श्रेष्ठ, सदस्य श्याम कुमार रिमाल, वडा समन्वय समिति हेटौंडा-१९ का अध्यक्ष देवेन्द्र अर्याल लगायतको उपस्थिति रहेको थियो ।

पछिल्लो समय नेपालमा मधुमेह र उच्च रक्तचापका बिरामी बढ्दै गएसँगै त्यसले आँखामा असर पारेका बिरामीहरु पनि बढ्दै गएको छ । मधुमेहले शरीरको विभिन्न अंगहरुमा असर पार्छ । त्यो मध्ये एउटा असर आँखामा पनि पर्ने गर्छ। मधुमेहको असरले आँखाको दृष्टिपर्दा अर्थात रेटिनामा असर पुर्‍याउँछ। यस्ता कार्यक्रमहरूले त्यस्ता समस्या हुनबाट समयमै सचेत गराउन महत्वपूर्ण भुमिका निर्वाह गर्दछ ।

साथैं ५० वर्ष भन्दा माथिका उमेर समुहका व्यक्तिहरूलाई आँखा सम्बन्धी समस्या धेरै आउने तर अधिकांश व्यक्तिहरू चेक गर्न नजाने कारणले यो कार्यक्रम निकै प्रभावकारि हुने र कार्यक्रम नगर भरी आयोजना गरीने नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले जानकारी दिए ।

पहिलो दिनको शिविरमा ९० जनाको आँखाको पर्दा परिक्षण गरीएको छ । शिविरमा आएका मध्ये मधुमेहका कारण वीस जना बिरामीको आँखामा समस्या देखिएको सामुदायिक आँखा अस्पतालका प्रशासन प्रमुख सुधीर भद्र श्रेष्ठले जानकारी दिए ।