काठमाडौं – आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा ८४ वटा दलले दर्ताका लागि निवेदन दिएका छन् । आयोगले मङ्सिर ४ गते हुने आमनिर्वाचनका लागि साउन अन्तिम साता १० दिनको म्याद राखेर दल दर्ता गर्न आह्वान गरेको थियो ।
निर्वाचन आयोगको राजनीतिक दल व्यवस्थापन शाखाका अधिकृत मधुकरप्रसाद पोखरेलका अनुसार मङ्गलबार अन्तिम दिनसम्म ८४ वटा दलले दर्ताका लागि निवेदन दिएका छन् । दर्ता भएकामध्ये १२ वटा दलले चारवटा समूह बनाएर चुनावी तालमेल गरेको जनाउँदै एकल चुनाव चिह्न पाउन निवेदन दिएका छन् ।
आयोगका अनुसार निवेदन दिएकामध्ये छवटा राष्ट्रिय मान्यता प्राप्त गरेका दल छन् । नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी) र लोसपा, नेपाल राष्ट्रिय मान्यता प्राप्त दल हुन् । निर्वाचन आयोगले ऐनबमोजिम सात दिनभित्र निवेदन दिएका दलको कागजात छानबिन गरी दर्ता स्वीकृत गर्नेछ ।