प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

तीन वर्षीय बालकको श्वासनलीमा सिसाकलम अड्किएपछि...

२०७९ असार २९, बुधबार ०४:१४ बजे

बनेपा – पनौती नगरपालिका–९ जाकिडोलका तीन वर्षीय बालक प्रयत्न श्रेष्ठको श्वासनलीमा अड्किएको पेन्सिल (सिसाकलम) शल्यक्रिया गरी निकालिएको छ । धुलिखेल अस्पतालले सफल शल्यक्रिया गरी श्वासनलीबाट पेन्सिल निकालेको हो । असार २१ गते मङ्गलबार बिहान दाइसँगै खेलिरहेका बालक प्रयत्नले पेन्सिल चलाइरहेको बेला मुखबाट श्वासनलीमा पुगेर अड्किएको थियो ।

सिसाकलम अड्किएपछि बेहोस भएका प्रयत्नलाई परिवारले उपचारका लागि अस्पताल ल्याएका हुन् । प्रयत्नका बुवा प्रेमकृष्ण श्रेष्ठले भने,“दाजु होमवर्क गरेको हेरेर बसेको थियो, उत्तानो परेको भाइ प्रयत्नले मुखभित्र सिसाकलम छिराएको पत्तो नै भएन ।” उनले प्रयत्न बेहोस भएपछि अस्पताल ल्याएर परीक्षण गर्दा श्वासनलीमा सिसाकलम अड्किएको भेटिएको जानकारी दिए ।

अस्पतालका नाक, कान, घाँटी विभागका विशेषज्ञ डा. आभाकिरण केसीले बालकको श्वासनलीभित्र चार सेन्टिमिटरको पेन्सिल अड्किएको बताए । मुखबाट पाइप छिराएर (रिजिड ब्रोनोस्कोपी)को माध्यमबाट करिब आधा घण्टाभित्र सफल रूपमा शल्यक्रिया गरी पेन्सिल झिकिएको जानकारी उनले दिए । उनका अनुसार खानानली (पेट)भन्दा श्वासनलीमा कुनै वस्तु अड्कियो भने त्यो जटिल हुन्छ । बच्चालाई समयमा नै अस्पताल नल्याएको भए ज्यानै खतरामा हुन्थ्यो । शल्यक्रिया सफलतापछि बच्चालाई चारदिन भेन्टिलेटरमा राखिएको बाल रोग विशेषज्ञ डा. सिर्जना डङ्गोल सिंहले बताईन् । बच्चाको घाउ कम हुँदै गएकाले भेन्टिलेटरबाट हाईडेफेन्सिस युनिटको कक्षमा राखेर उपचार भइरहेकोछ ।