प्रहर खबर
 २०८३ भाद्र १४, आइतवार    

शिक्षा मन्त्री सुमनालाइ सहयोग गर्ने गगन थापाको घोषणा

२०८० चैत्र २९, बिहीबार १८:३७ बजे

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न शिक्षा मन्त्रीलाई आफूले सघाउने बताएका छन ।

शिक्षामन्त्री सुमना श्रेष्ठले प्रतिवेदन सार्वजनिक गरिदिएकोप्रति धन्यवाद ज्ञापन गर्दै उहाँले प्रतिवेदन कार्यान्वयन हुनेमा विश्वास पनि व्यक्त गर्नुभएको छ। पूर्व स्वास्थ्यमन्त्री थापाले प्रतिवेदनमा उल्लेख गरिएका कतिपय सुझाव कार्यान्वयनमा आएको र कतिपय सुझाव अझै पनि कार्यान्वयनमा आउन बाँकी नै रहेकाले तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन ।

सामाजिक सञ्जालहरूबाट प्रतिक्रिया दिँदै उहाँले दोषीलाई कुनै पनि बहानामा उम्किन नदिन पनि अनुरोध गरेका छन । महामन्त्री थापाले लेखेका छन, ‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कार्यका लागि शिक्षा मन्त्रीज्यूलाई धन्यवाद ।’

आयोग बन्ने तर प्रतिवेदन सार्वजनिक नहुने अनि कार्यान्वयन त हुँदै नहुने प्रवृत्तिमा बिचमा प्रतिवेदन सार्वजनिक गर्नु नै आफैमा सकारात्मक रहेको उहाँको भनाइ छ।

महामन्त्री थापाले प्रतिवेदनले उजागर गरेका सम्बन्धन, भर्ना, सिट, शुल्क लगायतका कतिपय विषयमा चिकित्सा शिक्षा ऐन नै बनेर आयोगमार्फत कार्यान्वयनको चरणमा रहेको र त्यसलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।

‘प्रतिवेदनले आधार र कारण खुलाएरै जसजसलाई कारवाहीको सिफारिस गरेको छ, त्यो सिफारिस कार्यान्वयनको दिशामा अगाडि बढ्छ भन्ने विश्वास छ र यो सत्प्रयासमा हाम्रो साथ पनि रहने प्रतिबद्धता छ,’ पूर्व स्वास्थ्य मन्त्री थापाले भने ।