प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

मितेरी पुल पुनः सञ्चालनमा ल्याउन नेपालले चीनसँग सहयोग माग्ने

२०८२ असार २५, बुधबार १८:२४ बजे

मकवानपुर । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले रसुवाको मितेरी पुल पुनः सञ्चालनमा ल्याउन चीनसँग आग्रह गर्ने निर्णय गरेको छ ।

केहीबेर अघि बसेको परिषद्को बैठकले मितेरी पुल पुनः सञ्चालनमा ल्याउन चीनसँग आग्रह गर्ने निर्णय गरेको प्राधिकरणका कार्यकारी निर्देशक दिनेश भट्टले पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभएको हो ।

यस्तै बैठकले मनसुनजन्य विपद् क्षति न्यूनीकरणका लागि चीनसँग समन्वय बढाउन जरुरी रहेको निष्कर्ष पनि निकालेको छ ।

पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक भट्टले चीनसँग सूचना आदानप्रदान नहुने हो भने नेपाल जति बेला पनि दुर्घटनाको जोखिममा पर्ने निष्कर्ष निकालेको जानकारी गराउनुभयो ।

उहाँले पूर्वसूचना प्रणाली अहिले नेपालकोले मात्रै काम गरिरहेको र चीनसँग यसबारेमा सहकार्य गरेर अघि बढ्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

नेपालकै पूर्वसूचना प्रणालीले मात्रै नपुगेको भन्दै अझै विस्तार गर्न जरुरी देखिएको भट्टको भनाइ छ ।