प्रहर खबर
 २०८३ भाद्र १४, आइतवार    

हेटौँडालाई भ्रष्ट्राचारमुक्त नगर बनाउँछुः सिंह

२०७९ बैशाख २१, बुधबार ०४:३७ बजे

हेटौँडा – राष्ट्रिय प्रजातान्त्र पार्टीबाट हेटौँडा उपमहानगरपालिकाका मेयर दिपकबहादुर सिंहले आफु मेयरमा विजयी भए भने हेटौँडालाई भ्रष्ट्राचारमुक्त सहर बनाउने बताएका छन् । मेयरमा उम्मेद्वारी दिएपछि आज पहिलो पटक पत्रकार सम्मेलनको आयोजना गरि सिंहले आफ्ना योजनाहरु सुनाउने क्रममा भ्रष्ट्राचार न्युनिकरणलाई जोड दिएका थिए ।

भ्रष्ट्राचार नहुने वित्तिकै विकासका कामहरु तिब्र ढंगले बढने भन्दै सिंहले आफुलाई मतदान गर्नको लागि अनुरोध गरेका छन् । उनले भने ‘मैले र मेरो परिवारले बेईमानी गरेको पैसा एक कौडी पनि खाँदैन र एक कौडी पनि कसैलाई बेईमानी गर्न दिँदैन् ।’

हेटौँडा उपमहानगरको स्वास्थ्य क्षेत्र निकै कमजोर रहेको भन्दै उनले आफु विजयी भए विशेषज्ञ सेवा सहितको सुविधायुक्त अस्पताल निर्माण गर्ने, हेटौँडाको चक्रपथलाई पुरा गर्ने, घरघरमा बृद्धाभत्ता पुर्याउने ब्यवस्था गर्ने लगाएतका कामहरु गर्ने बताए ।

हेटौँडालाई चार वर्षभित्र महानगरपालिका बनाउने सोच आफुले गरेको भन्दै आफु विजयी भए विज्ञहरु नियुक्त गरि हरेक क्षेत्रको विकासमा आफ्नो पूर्ण ध्यान हुने बताए । उनले हेटौँडालाई सुन्दर, सभ्य, सफा तथा विकासको दृष्टिकोणले देशकै नमुना सहर बनाउने भिजन आफुसँग भएको दाबी गरे । आफु मेयरमा विजयी भए कुनैपनि सरकारी सबारीसाधन नलिने भन्दै आफ्नो सेवासुविधाबापत आएको तलबभत्ता शिक्षा, स्वास्थ्य तथा विकासमा खर्च गर्ने बताए ।

कार्यक्रममा बोल्दै उपमेयरकी उम्मेद्वार इन्दीरा न्यौपाने डल्लाकोटीले आफुहरु विजयी भए भ्रष्ट्राचार उन्मुलन, घरदैलो सेवा, विकासको कामलाई तिब्रता दिने बताईन् ।