हेटौंडा – श्रृंखलाबद्ध डाँका घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूको घरहरूमा जबरजस्ती प्रवेश गरी नगद तथा सुन चाँदीका गहना डाँका कार्यमा संलग्न रहेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा काठमाडौं नयाँवस्ती पाटिटार बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–७ तालामाराङ ठेगाना भएका सागर भन्ने ३८ वर्षीय राम सिंह तामाङ, काठमाडौं जोरपाटी बस्ने मकवानपुर वाग्मती गाउँपालिका–८ ठेगाना भएका ३८ वर्षीय दिल बहादुर सिङतान र जोरपाटी बस्ने मकवानपुर बकैया गाउँपालिका–५ ठेगाना भएका शुशिल भन्ने ३५ वर्षीय बाबुलाल थिङ रहेका छन् ।
काठमाडौं कीर्तिपुर नगरपालिका–६ स्थित नारायण बस्नेतको घरमा प्रवेश गरी धारिलो हतियार देखाई नगद, सुन तथा हिराका गहना डाँका गरी लगेको साथै उपत्यकाका विभिन्न तीन स्थानमा तथा उपत्यका बाहिर एक स्थानमा डाँका चोरी गर्ने कार्यमा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूले डाँका गर्ने क्रममा परिवारका सदस्यहरूको हात बाँधि मुखमा टेप लगाउने, आफूहरूलाई कहिले प्रहरी हौँ खानतलासी गर्न आएको भन्ने तथा कहिले सशस्त्र समूह हौँ तपाईहरूको घरमा अवैध धन लुकाएर राखेको रहेछ देखाउनुस् भनि डर, धम्की देखाउने, डाँका गर्ने घरमा अगाडि नै रेकी गरी घरधनीलाई भेटी तपाईको घरमा पुरानो टिभी रहेछ भित्रको सामान बहुमुल्य हुन्छ दुई लाखसम्म आउँछ भनी घरको कोठाहरू अवलोकन गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । साथै उनीहरू यस अगाडि पनि खुन डाँका, चोरी डाँका र कर्तव्य ज्यान जस्ता मुद्दामा जेल सजाय भुक्तान गरिसकेको समेत अनुसन्धानबाट खुल्न आएको छ ।
उनीहरूको साथबाट डाँका चोरी गरेको नगद एक लाख ४२ हजार १०५ रूपैयाँ, दुई थान खुकुरी, एक थान रड, एक थान मोटरसाइकल र पाँच थान मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरूलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त कीर्तिपुर र बौद्ध पठाइएको बुझिएको छ ।