हेटौंडा – यात्रुबहाक बसले सीटी सफारी(मयूरी)लाई ठक्कर दिँदा वृद्धा महिलाको मृत्यु भएको छ। पूर्वपश्चिम लोकमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरेमा बुधबार दिउँसो पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को१ख ७८३५ नम्बरको बसले पश्चिमतर्फ नै आउँदै गरेको प्रदेश १–०१–००२ ह ११४८ नम्बरको सफारीलाई पथरीशनिश्चरे नगरपालिका–१ मा ठक्कर दिँदा दुर्घटना भएको हो।
मृत्यु हुनेमा सफारीमा सवार तेह्रथुम घर भइ पथरीशनिश्चरे–२ मा पाहुना आएकी ८० वर्षीया हस्तमाया गुरुङ रहेका छन् । उनका अनुसार दुर्घटनामा परेर घाइते भएकी हस्तमायालाई उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पुर्याउनसाथ दिउँसो १ बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सफारी चालक पथरीशनिश्चरे–२ का ५१ वर्षीय ललितकुमार गुरुङ घाइते भएका छन्। उनको पथरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै बस र चालक पाँचथरको मेमेङ घर भएका ३२ वर्षीय अर्जुन राईलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ।