प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

मकवानपुरका साइकलयात्रीको मेची–महाकाली यात्रा(तस्बीरसहित)

२०८० कार्तिक १२, आईतबार ०८:४४ बजे

हेटौंडा – मकवानपुरका ११ र बुटवलका २ गरी १३ जना साइकलयात्रीले शनिबार बिहान नेपालको काँकडभिट्टाबाट मेची–महाकाली यात्रा सुरु गरेका छन् । शनिबार कोजाग्रत पूर्णिमाको दिन बिहान ८ बजे मेचीनगरस्थित नेपाल–भारत सीमानाकाको मेची पुलबाट साइकलयात्रा सुरु गरिएको भ्रमण टोलीका सदस्य लक्ष्मीचरण श्रेष्ठले जानकारी दिए ।

साइकल यात्रीहरुलाई मेचीनगर नगरपालिकाका निवर्तमान नगरप्रमुख विमल आचार्य र नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले खादा र अबिर लगाएर विदाई गरेका थिए । 

स्वास्थ्य, पर्यावरण, पर्यटन र साइकल संस्कृति विकासको निम्ति साइकल भन्ने सकारात्मक सन्देस प्रवाह गर्दै हिमालयन राईडर्स सोसाइटी हेटौंडाको समन्वयमा सोसाइटीका संस्थापक अध्यक्ष चेतनाथ आचार्यको नेतृत्वमा नेपाल–भारत सीमानाकाको मेची पुलबाट साइकलयात्रा सुरु गरिएको हो ।

सोसाइटीका संस्थापक अध्यक्ष चेतनाथ आचार्यले नेपालमा साइकल संस्कृतिको प्रोत्साहनको खाँचो रहेको धारणा राख्दै पर्यटन, स्वास्थ्य र पर्यावरणका लागि संस्थागत रुपमा मेची–महाकाली साइकलयात्राको आयोजना गरिएको बताए ।

यात्राका क्रममा मुलुकका प्रमुख पर्यटकीयस्थलको अवलोकन र प्रचारप्रसार गरिने सोसाइटीका उपाध्यक्ष राजु थापा मगरले बताए । काँकडभिट्टाबाट झापाको पश्चिमी सिमाना दमकसम्म स्थानीय दुई जना साइकलयात्रीले साथ दिने उनको भनाइ छ ।

पूर्वी नाका काँकडभिट्टाबाट शनिबार बिहान ८ बजे सुरु भएको सो यात्रा शनिबार सुनसरीको इटहरी पुग्ने र दश दिनमा महाकाली पुगेर समापन हुने नेपाल पत्रकार महासङ्घ मकवानपुरका पूर्वअध्यक्ष भानुभक्त आचार्यले जानकारी दिए ।

२०५४ माघ महिनामा सामान्य साइकलमा हेटौंडाका ११ जनाले मेचीमहाकाली यात्रा गरेका थिए । भिजिट नेपाल ९८ को अवसरमा हेटौंडाको सहीद स्मारकलगायतका पर्यटकीयस्थलको जानकारी दिनका लागि ब्यक्तिगत खर्चमा उनीहरुले साइकलयात्रा गरेका थिए ।

११ जनामध्ये २ जनाले पूर्वबाट हेटौंडासम्म साइकलयात्रा गरी बीचैमा यात्रा स्थगित गरेका थिए भने ९ जनाले १६ दिन लगाएर मेची–काली साइकलयात्रा पूरा गरेका थिए ।

२५ वर्षअघिको पूर्वपश्चिम राजमार्गको अवस्था र बर्तमान अवस्थामा निकै फरक आएको र अहिले गियर सहितको साइकल उपलब्ध भएका कारण १२ दिनभित्र यात्रा सम्पन्न गर्न सकिने उनीहरुले बताएका छन् ।

साइकलयात्रीहरु निवृत्त निजामती कर्मचारी, शिक्षक, पत्रकार र व्यवसायी हुन् । टोलीमा लक्ष्मीचरण श्रेष्ठ, भानुभक्त आचार्य, चेतनाथ आचार्य, बुद्धिबहादुर आलेमगर, राजु थापामगर, लेखनाथ ढकाल, सरोज लामिछाने, ओकिलराज बानियाँ, दुर्गाप्रसाद लामिछाने, सुशील चौधरी (बुटवल), सुरज खत्री (बुटवल), विकास बानियाँ, सीता श्रेष्ठ रहेका छन् ।

साइकलयात्रामा सहभागी सदस्यमध्ये श्रेष्ठ र भानुभक्त आचार्य दोस्रो पटक मेची–महाकाली साइकल यात्रा गर्दैछन् । आचार्य साइकलयात्रामा सहभागीमध्ये जेष्ठ सदस्य हुन् ।