काठमाडौं – पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फको मतपत्र छपाइ सुरु भएको छ भने समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी थालिएको छ । आठ जिल्लाका लागि आवश्यक समानुपातिकतर्फको मतपत्र शुक्रबार ढुवानी गरिएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार असोज ३१ गते भित्र ३५ जिल्लामा मतपत्र ढुवानी सम्पन्न भइसक्नेछ । कात्तिक पहिलो साताभित्र समानुपातिकतर्फको मतपत्र सबै जिल्लामा पुगिसक्ने उनले बताए । शुक्रबार सोलुखुम्बु, ओखलढुङ्गा, सप्तरी, सिरहा, उदयपुर, धनुषासहितका आठ जिल्लामा सातवटा ट्रकमा मतपत्र पठाइएको छ ।
नेपाली सेनाको विशेष सुरक्षा निगरानीमा मतपत्र ढुवानी गरिएको आयोगले जनाएको छ । समानुपातिकतर्फ चार करोड ५५ लाख मतपत्र छापिएका छन् । आगामी निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फको मतपत्र छपाइ सुरु भएको छ ।
आयोगका अनुसार आगामी कात्तिक २७ गते सबै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको मतपत्र ढुवानी सुरु गर्ने गरी मतपत्र छाप्न सुरु भएको हो । आयो गका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीबारबाट प्रदेश सभाको प्रत्यक्षतर्फको मतपत्र छाप्न सुुरु भएको जानकारी दिए । प्रत्यक्षतर्फको मतपत्र सेतो पृष्ठभूमिमा विवरण र निर्वाचन चिह्न रातो रङको हुने छ । आयोगका अनुसार प्रदेश र प्रतिनिधि सभाको प्रत्यक्षतर्फ करिब चार करोड मतपत्र छापिने छन् ।