प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

बागमतीका मन्त्री, सांसद र स्वकीयलाई दसैँभत्ता, झण्डै १ करोड झ्वाम

२०८० कार्तिक ३, शुक्रबार ०७:२७ बजे

हेटौंडा – बागमती प्रदेशका मन्त्री, सांसद र स्वकीय सचिवहरुले झण्डै १ करोड अर्थात् ९८ लाख रुपैयाँ भन्दा बढी रकम दसैँभत्ता बुझेका छन् । प्रदेश सरकारका ६ मन्त्री, सभामुख र उपसभमुख, ९६ जना सांसदसहित स्वकीयहरुको दसैँभत्ताका लागि ९८ लाख रुपैयाँ भन्दा बढी रकम खर्च भएको छ ।

बागमती प्रदेशसभा सचिवालय हेटौंडाले सभामुख, उपसभामुखसहित ९६ सांसद र तिनका स्वकीयहरुलाई दसैँभत्ता उपलब्ध गराएको हो भने मन्त्रीहरुलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय हेटौंडाले वितरण गरेको हो ।

सभामुख, उपसभामुखसहित सांसद र स्वकीयलाई ८५ लाख ११ हजार ५५० रुपैयाँ भत्ताबापत वितरण गरिएको सचिवालयले जानकारी दिएको छ । मन्त्री र मन्त्रीका स्वकीयहरुका लागि १३ लाख ७१ हजार ९४१ रुपैयाँ दसैँभत्ता उपलब्ध गराएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय हेटौंडाले जनाएको छ । मन्त्री, संसद र स्वकीयहरुको दसैँभत्ता वापत् प्रदेश सरकारको ढुकुटीबाट ९८ लाख ८३ हजार ४९१ रुपैयाँ खर्च भएको छ ।

दसैँ भत्ता बापतको रकम ९६ जना सांसदहरुलाई ४९ लाख ५९ हजार रुपैयाँ र स्वकीय सचिवहरूलाई ३२ लाख ९९ हजार ३ सय ५० रुपैयाँ, सभामुख, उपसभामुख र प्रतिपक्षी दलका नेतालाई १ लाख ७७ हजार रुपैयाँ र तिनका स्वकीयहरूलाई १ लाख १२ हजार २२८ रुपैयाँ दसैँभत्तावापत दिइएको हो ।रातोपाटीबाट